Thursday, 30 May 2013

मोरङ हरैचाको स्वास्थ्य केन्द्रमा चौबिस घण्टे सेवा


सुनिता राई, डिसीनेपाल डटकम संवाददाता - मोरङको हरैचामा रहेको स्वास्थ्यकेन्द्रले स्थानीयवासीसमेतको सहयोगमा आरोग्य सहकारी समिति निर्माण गरी केन्द्रमा चौबिसघण्टे सेवा सुरु गरेपछि स्वास्थ्यकेन्द्रमा आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

आदिवासी र दलित समुदायको बाहुल्यता रहेको उक्त स्वास्थ्य केन्द्रले उपचार सेवालाई प्रभावकारी बनाउन दुई वर्ष अघिदेखि चौबिसघण्टे सेवा सुरु गरेको थियो । सो स्वास्थ्यकेन्द्रले चौबिसघण्टे सेवा दिन थालेपछि लक्षित गाविसका मात्र नभएर टाढाटाढाबाट बिरामी पनि उपचारका लागि आउन थालेको स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक शेखर यादवले बताए ।

का अनुसार चौबिसघण्टे सेवा सुचारु भएपछि सबैभन्दा बढी राहत प्रसूति गराउने महिलालाई भएको छ । केन्द्रमा चौबिस घण्टा सेवा सुरु भएपछि राति पनि हरेक दिन दुई दक्ष स्वास्थ्यकर्मी (एक अहेब र एक नर्सिङ स्टाफ) काममा खटिने गरेका छन् ।   

सो सेवा सुरु हुनुअघि स्थानीय महिलाले प्रसूति गराउन १५ किलोमिटर टाढा रहेको सदरमुकाम विराटनगर र छिमेकी जिल्लाका अस्पतालमा जानुपर्ने बाध्यता थियो ।

टाढा गएर प्रसूति गराउनु खर्चिलो पनि हुने भएकाले सबै मानिसको आर्थिक अवस्थाले नभ्याउने हुँदा गरिब महिला घरमै असुरक्षित प्रसूति गराउन पनि बाध्य थिए । हरैचा गाविसका सचिव सूर्य लम्सालका अनुसार गाउँमै प्रसूति गराउन पाएपछि आमा सुरक्षा कार्यक्रमको रकम पनि सदुपयोग भएको छ ।  

गत २०५३ मा स्थापना भएको हरैचा स्वास्थ्यकेन्द्रले लक्षितरूपमा पिछडिएका जाति थारु, ऋषिदेवलगायतको बाक्लो बसोवास भएका गाविस हरैचा, कसेनी, दुलारी, इन्द्रपुर, बेलबारी, सुन्दरपुर, मृगौलिया गाविसका बिरामीलाई उपचार सेवा पु-याइरहेको छ ।

तर चौबिसघण्टे सेवाको प्रभावकारिताले गर्दा उत्तरी र पूर्वी मोरङका मानिस पनि उपचारका लागि आउने गरेका छन् । विसं २०६९ साउनदेखि चैतसम्म केन्द्रमा आएका ५० जना सुत्केरीमध्ये ४५ जना पिछडिएको समुदायका नै थिए ।    

चौबिसघण्टे सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकेन्द्रले आफ्नै आर्थिक समिति बनाई कर्मचारी आवासगृहसमेत निर्माण गरेको छ । जसले स्वास्थ्यकर्मीलाई राति ड्युटीमा बस्न सजिलो हुनेगरेको छ ।

केन्द्रका अनुसार चौबिसघण्टे सेवा सुरु भएपछि वर्षमा झन्डै १०० महिला प्रसूति गराउन वर्थिङ सेन्टरमा र १५० जना अन्य बिरामी अन्तरङ्ग विभागमा उपचार गराउन आउन थालेका छन् । गत वर्ष आएका झन्डै १०० प्रसूतिका बिरामीमध्ये ६० जनाको स्वास्थ्यकेन्द्रमै सफल प्रसूति भएको थियो ।

जिल्ला जनस्वास्थ्य मोरङका अनुसार मोरङमा रहेका स्वास्थ्य केन्द्रहरूमा सातवटा प्रसूति केन्द्र छन् । तर सबैमा चौबिसघण्टे सेवा लागू भएको छैन । भएका पनि स्वास्थ्यकर्मीहरू नियमित नबस्दा उपचार सेवा प्रभावकारी हुन सकेको छैन ।

जम्मा १३ जनाको दरबन्दी रहेको हरैचा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सहायकसहित जम्मा नौजना स्वास्थ्यकर्मी मात्र छन् । बर्थिङ सेन्टरमा उपकरण र स्वास्थ्य केन्द्रमा बजेटको पनि अभाव छ ।

केन्द्रमा अझै पनि प्रसूति गराउँदा अति आवश्यक मानिने निर्मलीकरण गर्ने बच्चा तान्ने अक्सिजन सिलिन्डर र फर्निचरदेखि बिरामी ल्याउन, पु-याउन एम्बुलेन्सलगायतको अभाव छ ।

तर पनि यहाँ स्वास्थ्य सहायकसहितको प्रयासमा उपचार सेवा भरपर्दो भइरहेको र सेवाको विश्वास पनि बढ्दै गइरहेको स्थानीयवासी रमेश गजमेरले बताएका छन् ।

No comments:

Post a Comment